३ पुष २०८१, बुधबार

प्रधानमन्त्री ओलीले नेपाली जनतामाथि विश्वासघात गरे: नेता रावल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनतामाथि विश्वासघात गरिएको आरोप लगाएका छन् ।

केपी ओली नेतृत्वको सरकारका असंवैधानिक कदमका विरुद्ध प्रचण्ड–माधव पक्षले आयोजना गरेको विरोध कार्यक्रम अन्तर्गत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा उनले यस्तो भनेका हुन् ।

रावलले प्रधानमन्त्री ओलीमाथि प्रतिनिधिसभा विघटन गरेर जनमत कुल्चिएको आरोप लगाएका छन् । सहिदको रगत, पसिनाको बलमा संविधानसभाबाट बनाइएको संविधानलाई ओली नेतृत्वको सरकारले कुल्चिएको बताए ।

आफूहरु सहिदको सपना, उनीहरुको मूल्य–मान्यताको रक्षा गर्न सडकमा उत्रिएको रावलले बताए । प्रधानमन्त्री ओलीले एकातिर संविधान कुल्चिएर प्रतिनिधिसभा विघटन गरेको, अर्कोतिर पदबाट राजीनामा नदिइ संविधान विपरीत मन्त्रिपरिषद पुनर्गठन गरेको बताए । उनले प्रधानमन्त्री ओलीबाट राष्ट्रघात भएको पनि आरोप लगाए ।

एमसीसी सम्झौता राष्ट्रघाती भएको दावी गर्दै उनले सोही सम्झौता अघि बढाउन अथक प्रयास गरेका ओलीले राष्ट्रघातको बाटो रोजेको प्रस्ट पारे । एमसीसीमा टेकेर देशमा विदेशी सेना भित्रिने खतरा रहेको पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस !