प्रधानमन्त्री ओलीले सदनमा गुमाए विश्वासको मत, सरकार कामचलाउमा परिणत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वास गुमाएका छन्। आफ्नै पार्टीबाट समेत असहयोग हुँदा ओलीले विश्वासको मत नपाएका हुन्।
२०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमवार प्रतिनिधिसभाको विशेष अधिवेशनमा संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका थिए।
निर्णयार्थ पेस गर्दा सदनमा उपस्थित मध्ये ९३ ले ओलीलाई मत दिएका छन्। विपक्षमा १२४ मत पर्दा १५ तटस्थ रहे। २ सय ३२ सांसद आजको प्रकृयामा सहभागी रहेका थिए।
ओलीले बहुमत गुमाएसँगै कामचलाउमा परिणत भएका छन्। अब नयाँ सरकार गठनको प्रक्रिया पनि प्रारम्भ हुनेछ।