सरकार र उखु किसानबीच चार बुँदे सम्झौता: २१ दिनभित्र बक्यौता रकम पाउने, आन्दोलन स्थगित (पत्रसहित)
काठमाडौँ । बक्यौता रकम भुक्तानीको माग राख्दै आन्दोलनरत उखु किसान र सरकारबीच आजचार बुँदे सम्झौता भएको छ ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच चार बुँदे सम्झौता भएको हो ।
मन्त्रालयमा भएको छलफलमा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिएका छन् ।
सम्झौताअनुसार उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र चुनुवा पूर्जी जारी गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिन भित्र सुझाव पेश गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, जिल्ल प्रशासन कार्यालय, सर्लाहीले तौल काँटाको बारेमा गरेको निर्णय तुरुन्त स्थगित गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।
काठमाडौँमा हाल उखु किसानले गरिरहेको धर्ना तत्काल स्थगन गर्ने सम्झौता भएको छ ।
सरकारले बक्यौता रकम दिलाउने आश्वसन दिए पनि अझै भुक्तानी नपाएको भन्दै उखु किसानले केही दिन यता निरन्तर काठमाडौँमा आन्दोलन गर्दै आएका थिए ।
गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गरी माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने प्रतिवद्धता जनाए पनि कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलनरत थिए ।