२० बैशाख २०८१, बिहीबार

आजदेखि थप यी जिल्लामा निषेधाज्ञा जारी



 

काठमाडौं । कोरोना संक्रमण तीब्र बनेसँगै आज थप सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले निषेधाज्ञा जारी गरेका जिल्लाको संख्या ३० पुगेको जनाएको छ ।

मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुरामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी निषेधाज्ञा घोषणा गरेका छन् ।

गोरखा र प्यूठानमा वैशाख २४ गतेसम्म, उदयपुर र गुल्मीमा २५ गतेसम्म, काभ्रेमा २६ गतेसम्म, मकवानपुर र बाजुरामा ३१ गतेसम्म निषेधाज्ञा लागू हुने स्थानीय प्रशासनले जनाएका छन् ।

काठमाडौं उपत्यकाका तीनसहित देशका २३ जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको सरकारले जनाएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन, रूपन्देही, पाल्पा र सुनसरीमा जिल्लाभर निषेधाज्ञा लागू छ ।

झापा, बागलुङ, बर्दिया, दार्चुला, डडेलधुरा, कालिकोट, कञ्चनपुर, जाजरकोट, सल्यान र रुकुम पश्चिममा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले तराई र काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमित ५ सय र हिमाली र पहाडी जिल्लामा २ सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !