आज ३२ अंकले घट्यो नेप्से
काठमाडौं । आज नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २१ अंकले घटेको छ । बुधबार म्युचुअल फण्ड समूहको सवइन्डेक्स ० दशमलव ०२ अंकले उकालो लागेको छ भने बाँकी सबै समूहगत सबइन्डेक्स घटेर राताम्मे देखिएका छन् ।
बजार समग्रमा ३२ अंकले घटेपनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने निकै राम्रो सुधार देखिएको छ । चार वटा कम्पनीको सेयर मूल्य सर्किट लेभल (९ प्रतिशत भन्दा माथि) ले वृद्धि भएका छन् ।
आईपीओ सूचीकृत भएदेखि नै दैनिक वृद्धि भइरहेको ज्योति लाइफको बुधबार पनि ९ दशमलव ९६ अंकले वृद्धि भएको छ । कारोबार संख्या तथा कारोबार रकमका आधारमा भने पहिलो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक देखिएको छ ।