१५ चैत्र २०८०, बिहीबार

आज रामनवमी देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

माडीमा सीतारामको मूर्ति स्थापना गरिँदै



काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।

यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् ।

जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो ।

माडीमा सीतारामको मूर्ति स्थापना गरिँदै

श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति आज प्रतिस्थापन गरिने भएको छ ।

प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित त्यसतर्फ लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए ।

बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट पुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

आज गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ यात्रा अघि बढेको छ । मध्याह्न १२:३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको जनाइएको छ ।

प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ ।

यात्रामा संस्कृति मन्त्रालयका सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायत कोषका पदाधिकारी सहभागी छन् ।

गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !