७ बैशाख २०८१, शुक्रबार

बिद्यालय बन्द गर्ने, नगर्ने भन्ने सन्दर्भमा शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन (विज्ञप्तिसहित)



 

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय पालना गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो ।

स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन भने अपिल गरेको छ शुक्रबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकपछि मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने निर्णय पनि गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर स्थानीय तहसँगको समन्वयमा भने विद्यालय बन्द हुनसक्ने उहाँको भनाइ छ ।

यसअघि पनि मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा सहभागीहरूले पनि विद्यालय बन्द गर्न नहुने धारणा राखेको थिए ।

यता स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान र भिडभाड हुने क्षेत्र र क्रियाकलाप बन्द गर्न अपिल गरेको थियो ।

यसअघि काठमाडौँ महानगरपालिकाले पनि शिक्षक वा विद्यार्थीमा कोरोना भाइरस देखिए एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । महानगरको निर्णयमा कोभिड–१९ को समस्या भएका विद्यालय मात्र बन्द गर्न पाउने र सबै विद्यालयलाई एकैपटक बन्द गर्न नहुने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !