८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्र छाडेर एमालेमा लागेका चार सांसद पदमुक्त



 

जनकपुरधाम । नेकपा माओवादी केन्द्र छाडेर एमाले पार्टीमा लागेका चार जना सांसद पद रिक्त भएका छन् ।

सोमबार माओवादी केन्द्रको प्रदेश २ संसदीय दलका नेता भरतप्रसाद साहले गरेको सिफारिसको आधारमा सभामुख सरोज यादवले पदमुक्त गरेका हुन् ।

बैठकमा सभामुख यादवले पत्र पढेर माओवादी केन्द्रबाट एमालेमा लागेका रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त भएको घोषणा गरेका थिए । उनीहरूलाई पार्टीको विधान विपरित अन्य पार्टीमा लागेको भन्दै कारवाही गरिएको हो ।

चारजना सांसद नेकपा एमालेमा लागेपछि पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि उनीहरूले नदिएपछि पदमुक्त गर्न सिफारिस गरिएको थियो ।

माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरू थिए । जसमा चारजना कारबाहीमा परेसँगै अब उक्त पार्टीको प्रदेश २ मा ७ जना सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !