५ जेष्ठ २०८१, शनिबार

भोलि पत्रकार महासंघको चुनाव, कस्ले र्माला बाजी



काठमाडौं । नयाँ नेतृत्वका लागि नेपाल पत्रकार महासंघको भोलि मतदान हुने भएको छ । उम्मेदवारहरुले भेटघाट गरेर, फोन गरेर र सामाजिक सन्जालमार्फत् भोट माग्दै आएका छन् । भोट माग्ने आज अन्तिम दिन रहेको छ । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।

महासंघको २६ ओँ महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि सामाजिक सञ्‍जाल पत्रकारहरूकै आकर्षक तस्बिर र नाराले रंगिएका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राममा यतिबेला महासंघको नेतृत्वका लागि उम्मेद्‍वार बनेकाहरूले भोट मागिरहेका छन् । पत्रकार उम्मेद्‍वारहरूका भोट माग्‍ने नयाँ-नयाँ सिर्जनात्मक डिजिटल पर्चा, पम्पलेटले सामाजिक सञ्‍जाल भरिएको छ ।

महासंघको नयाँ नेतृत्वका लागि निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्ष पदकै लागि गजेन्द्र बुढाथोकी पनि चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा निर्मला शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकीले प्रतिष्पर्धा गर्दैछन् ।

यसै गरी वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा छन् भने समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिष्पर्धा गर्दैछन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दैछन् भने महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दैछन् ।

सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ । ७ प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ । प्रदेश तथा जिल्ला समितिहरुको नयाँ नेतृत्वका लागि पनि भोलि नै मतदान हुँदैछ । प्रदेश तथा जिल्लाका केही पदहरुमा भने पत्रकारहरु सर्वसम्मत चयन भएका छन् ।



प्रतिक्रिया दिनुहोस !