५ जेष्ठ २०८१, शनिबार

माधव नेपालले कास्की पुगेर बनाए अर्को समानान्तर कमिटी



 

पर्वत । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बिहीबार गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा समानान्तर जिल्ला कमिटी बनाएका छन्।

बिहीबार कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा नेता नेपालसहित सुरेन्द्र पाण्डे लगायतको उपस्थित थिए।

नेपाल–खनाल समूहले ७५ सदस्यीय समानान्तर कमिटी बनाएको छ। उक्त कमिटीको अध्यक्षमा धनराज आचार्य छन् भने सचिवमा होमबहादुर नेपाली चुनिएका छन्।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल पक्षका ४ जना नेतालाई स्पष्टीकरण सोधेको र जवाफ नआएपछि धमाधम कारबाही गरिरहेका छन्। त्यसकै विरोधस्वरूप नेपाल समूहले समानान्तर कमिटी बनाउन थालेको हो।

बिहीबारको भेलाबाट अध्यक्ष र सचिएको घोषणा गरिएको र छिट्टै अर्को भेला गरेर कमिटीलाई पूर्णता दिइने समानान्तर कमिटीका अध्यक्ष आचार्यले बताए। पार्टीको विधानअनुसार एक सय ५० सदस्यीय कमिटी बनाउन पाउने भए पनि ओली समूहबाट समेत समानान्तर कमिटीमा सदस्यहरू आउने ठाउँ खाली राखेर तत्कालका लागि ७५ सदस्यीय कमिटी बनाइएको आचार्यको भनाइ थियो।

समानान्तर कमिटी बनेपछि एमाले त फुटको सङ्घारमै आयो हैरु भन्ने थाहाखबरको प्रश्नमा जवाफ दिँदै अध्यक्ष आचार्यले समानान्तर कमिटीको मर्म फुट नभई पार्टीको एक नम्बर नेता ओलीलाई दबाब भएको जवाफ दिए।

‘यदि अझै पनि नसच्चिने हो भने अब महाधिवेशनसम्मै यसरी नै समानान्तर कमिटी चलिरहन्छन्,’ उनले भने, ‘सबै जिल्लामा नै यसरी कमिटी बनाउने हाम्रो तयारी छ। नेता नेपालले सम्बोधनका क्रममा समानान्तर कमिटी निर्वाचनको फेस गर्नसमेत तयार रहेको बताउनुभएको छ।’

कास्कीको भरतपोखरी निवासी आचार्य नेकपा एमाले उद्योग वाणिज्य क्षेत्रका निवर्तमान केन्द्रीय अध्यक्ष हुन्। उनी पार्टीको केन्द्रीय विभागको सदस्य, जिल्ला कमिटीका पूर्वसचिवालय सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखरा स्ववियु सभापतिसमेत भइसकेका व्यक्तित्व हुन्।

 



प्रतिक्रिया दिनुहोस !