५ जेष्ठ २०८१, शनिबार

मन्त्रीस्तरीय बिमस्टेक बैठक आज बस्दै, यस्तो छ छलफलको एजेन्डामा



 

काठमाडौं । बङ्गालको खाडीको पहलमा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको हो ।

सो बैठकको पूर्वाद्र्धमा बुधबार तयारी बैठक बसेको छ ।   मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्ने कार्यक्रम रहेको छ । उनीसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहने जनाएको छ।

भर्चुअल रूपमा बसेको तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन् । बैठकले बिहीबार भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।

यस्तै बहुआयामिक सम्पर्क सञ्जालमार्फत एकीकृत समृद्धि प्राप्तिका लागि आगामी दिनमा गर्नुपर्ने कामको ठोस योजना पनि यो बैठकले तय गर्ने जनाइएको छ ।

बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !