५ जेष्ठ २०८१, शनिबार

एमाले अध्यक्ष ओलीले मिति नै नहेरी दुई नेतालाई लेखिएको कारवाही पत्रमा गरे हस्ताक्षर



 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलाई कारवाही गर्न लेखिएको कारवाही पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिति नै नहेरी हस्ताक्षर गरेका छन् ।

पार्टीमा विवाद बढ्दै गर्दा सत्तारुढ नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई चैत ८ गते किन कारवाही नगर्ने भनेर स्पष्टीकरण सोधिएको थियो तर आज नेपाल र रावलाई मात्र कारवाही गरिएको पत्र पठाइएको हो ।

वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई चैत ७ मा बसेको संसदीय दल र केन्द्रीय कमिटी बैठकपछि चैत ८ मा उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो।

आफूहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ वरिष्ठ नेता नेपाल र रावलले चैत १२ गते दिइसकेका छन्। अन्य दुई नेताहरु भुसाल र पाण्डेले भने अझै जवाफ दिएका छैनन्।

तर यहाँनिर रोचक कुरा के भने नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गर्ने गरी थमाइएको पत्र भने एक महिना अगाडिको छ।

सबैलाई थाहा छ आज चैत १६ गते हो। तर एमाले अध्यक्ष ओलीले पनि राम्ररी मिति नै नहेरी दुई नेतालाई लेखिएको कारवाही पत्रमा हस्ताक्षर गरेका छन्।

अर्थात् चैत ८ मा सुरु भएको कारवाही प्रक्रियालाई निलम्बनसम्म पुर्‍याउन एमालेले लेखेको चिठीमा मिति भने फागुन १६ को राखिएको छ।



प्रतिक्रिया दिनुहोस !