५ जेष्ठ २०८१, शनिबार

एकदुई दिनमै सरकारलाई दिएको समर्थन अब फिर्ता लिन्छौँ: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

आज नागरिक समाजले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै प्रचण्डले केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

प्रचण्डले भने, ‘हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो पर्छ है भन्ने छ । मैले भनिरहेको छु, राजनीतिक र नैतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिन ।’

‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु । त्यसलाई मैले समर्थन गरिरहन सक्दिन, चाहे राजनीति जतासुकै जाओस्’ उनले अघि भने, ‘मैले मेरो राजनीति र नैतिकतालाई बचाउनुपर्छ । म केही दिनभित्र त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

आफ्नो प्रयास अहिले पनि संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भनेर सडकमा गएका दलहरुबीच अबको राजनीतिक निकासबारे न्यूनतम सहमति होस् भन्ने रहेको उनले बताए । प्रचण्डले अघि भने, ‘अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्र मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको मात्र हो ।’

 



प्रतिक्रिया दिनुहोस !