५ जेष्ठ २०८१, शनिबार

कोरोना कहर: रात्रिकालीन व्यवसाय ११ बजेपछि सञ्चालन गर्न नपाइने



 

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै निर्णयमार्फत कोरोनाको संक्रमण र रोकथामका लागि प्रभावकारी भूमिका खेल्न आम सर्वसाधारणमा अपिल गरेको छ ।

उपत्यकामा बढ्दो भीडभाड, त्यसमाथि नेपालीहरुको पर्व होली समेत भएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सचेत गरिएको छ । यस्तै भीडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न समेत अनुरोध प्रशासनले गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ ।

यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । यस्तै प्रशासनले जारी गरेको विज्ञप्तिमा काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत अनुरोध गरिएको छ ।

यस्तै विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोहीअनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्नसमेत अनुरोध गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक नै राखेर संक्रमण बढ्न नदिन सबै स्थानीय तहलाई विद्युतीय माध्यम तथा अन्य उपयुक्त माध्यमबाट चेतनामुलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै पहिले सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने, मास्क, सेनिटाइजर र भौतिक दूरी कायममा कडाइ गर्ने तथा मास्क नलगाउनेलाई नियमानुसार कारबाही गर्ने निर्णय समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । यस्तै रात्रिकालीन व्यवसाय ११ बजेपछि सञ्चालनमा रोक लगाउने, भिडभाड नगर्ने र सुरक्षाका मापदण्ड पनि कडाइका साथ पालना गर्नुपर्ने भएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि संक्रमण दरमा वृद्धि भएको भन्दै भीडभाड नगर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !