१६ चैत्र २०८०, शुक्रबार

पर्यटन पुनरोत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ



गण्डकी प्रदेश । कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले आजदेखि चारदिने पर्यटन पुनरोत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कायक्रम शुरु गरेको छ ।

कोरोनाले थलिएको पर्यटनमा गतिविधि बढाउने सन्देश प्रवाह गर्दै पूर्ववत् अवस्थामा फर्काउने सोचका पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मीसहितको टोलीले कास्की, पर्वत र बाग्लुङ तीन जिल्लाका पर्यटकीय गाउँहरूमा सञ्चालित घरबासको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

भ्रमणका क्रममा बागलुङको ढोरपाटनमा सञ्चालित घरबाससहित सोही जिल्लाको गलकोटस्थित रिघा सामुदायिक घरबास, ताराखोलास्थित शिवधुरी सामुदायिक घरबास, भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास, पर्वतको भुक देउराली सामुदायिक घरबास, लब्सिबोट सामुदायिक घरबास र कास्कीको हेम्जाकोट सामुदायिक घरबासमा पुगी सम्बद्ध सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिने छ ।

भ्रमण कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउनु अहिलेको आवश्यकता भएको बताए । गण्डकी प्रदेशको समृद्धिमा पर्यटन महत्वपूर्ण माध्यम भएको बताउँदै उनले पर्यटनको वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध भएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुुर भट्टराईले पर्यटन क्षेत्रलाई सबैको साथ सहयोगमा पुनः उत्थान गरिनु अहिलेको आवश्यकता भएको बताए ।भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सूर्यनाथ पहारी र उदय सुवेदीले प्रवद्र्धनात्मक भ्रमणले थलिएको पर्यटनमा ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।रासस



प्रतिक्रिया दिनुहोस !