२ जेष्ठ २०८१, बुधबार

किन प्रचण्डले केपी ओलीलाई लगाए यस्तो गम्भीर आरोप ?



 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको आरोप लगाएका छन् ।

अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालयले काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको बताएका हुन् ।

उनले भने, ‘अहिले दुई धार छ । एउटा यो संविधानलाई कसरी च्यात्ने होला भन्ने छन्, माओवादी आन्दोलनले पैदा गरेको समावेशी समानुपातिक मान्यतालाई के गरी निस्तेज होला भनेर हिजो देशभित्र र देश बाहिरका गणतन्त्र विरोधी सामन्तवादका दलालहरु, यो संविधान स्वीकार गर्न नसकेकाहरु मिलेर एउटा समूह बनेको छ । उनीहरुले यो संविधानलाई निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन् ।’

संविधान र गणतन्त्र सिध्याउन सक्ने पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि ओली भएको उनको आरोप छ । ओली विदेशीको अगाडि सजिलै लम्पसार गर्न सक्ने पनि प्रचण्डको दावी छ । ‘२० औं २५ औं वर्षदेखि विदेशीले हुर्काएको र पालित पोषित को हो भनेर हेर्दै जाँदा सबैले विचार गर्नु होला । केपी नै देखिए भनेका छन् र अहिले केपीलाई त्यो धारको प्रतिनिधिको रुपमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न साथ लिएका छन् । कति दिन साथ दिन्छन् थाहा छैन ।’

केपीलाई विदेशीले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न हुर्काएको उनको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस !