४ जेष्ठ २०८१, शुक्रबार

ओलीले नै पार्टीमा गुटबन्दी शुरू गरेको झलनाथ खनालको आरोप



 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दी शुरू गरेको आरोप लगाएका छन् ।

नेकपा एमाले माधवकुमार नेपाल समूहको आजदेखि ललितपुरको सानेपामा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खनालले अध्यक्षले नै गुटबन्दी शुरू गरेको बताएका हुन् ।

खनालले भने, ‘पार्टीसँग सल्लाहबिना उहाँ अघि बढ्नु भयो। निर्वाचन घोषणा पत्रमा देशसामु गरेका कुनै पनि प्रतिवद्धतालाई केपी ओली सरकारले लागू गर्न सकेन । निर्वाचनको प्रतिवद्धता अनुसार बजेट लागु गर्न पनि सक्नु भएन। पार्टीका विचार र भावनालाई लागु गर्न सक्नु भएन।’

नेता खनालले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि आरोप समेत लगाए। ‘ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने कुरा अगाडि सारे । तीन चार सयभन्दा मानिसहरु विभिन्न तहमा नियुक्त भए। पार्टीले भनेका र योग्य मानिसहरु क्षमतावान मानिसहरु नियुक्ति गरिएन। आफ्ना धुपौरेहरुलाई नियुक्ति गरे। जनताले समेत केपी ओलीलाई दुत्कारे उनले भने ।’

उनले एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया पूरा नहुनुदेखि पार्टी विभाजनसँगै भ्रष्टाचार बढ्नु, मुलुकमा कृषि क्रान्ति नहुनु र कम्युनिस्ट आन्दोलनले अझ उचाइ ग्रहण नगर्नुको कारक ओली भएको खनालको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !