सकियो ओली पक्षको बैठक, सदस्य मनोनित संगै भए यस्ता महत्त्वपूर्ण निर्णयहरु
बादलसँगै आएका २३ जना ओलीद्वारा केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित आएका २३ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
बुधबार वालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटिको बैठकले माओवादीबाट आएका बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । बैठकले बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभुसहित २३ जनालाई मनोनित गरेको हो ।
त्यस्तै बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ । उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए । त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ । बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ । बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।