चैत १ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने तयारी
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी गरेको जनाएको छ ।
चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताएका छन् ।
यो बैठक सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।
केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।