३ आश्विन २०८१, बिहीबार

ओलीको कदम गलत भनेपछि मन्त्री जोगिए



काठमाडौ।कुन ठाउँमा के बोल्नु हुँदैन भन्ने हेक्का नराख्दा बोल्नेले दुःख पाउँछ । यस्तै दुःख पाए ऊर्जामन्त्री टोपबहादुर रायमाझीले । शुक्रबार आयोजित नेपाल निजामती कर्मचारी संगठन, उपत्यका प्रदेश कार्यसमितिको अन्तरक्रिया कार्यक्रममा मन्त्री रायमाझी प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।

उक्त अन्तक्रियामा बोल्ने क्रममा रायमाझीले प्रचण्ड–नेपाल समूहविरुद्ध मञ्चबाटै तथानाम बोल्न थाले । तर, उनलाई हेक्का थिएन, त्यहाँ प्रचण्ड–माधव पक्षका कर्मचारीहरु पनि उपस्थित थिए ।

रायमाझीले प्रचण्ड–माधवविरुद्ध जथाभावी बोलेपछि संगठनका उपाध्यक्ष जीवन भण्डारीले प्रतिवाद गर्नुपर्यो । उनको प्रतिवादसँगै मन्त्रीविरुद्ध हुटिङ सुरु भयो । र, अन्त्यमा मन्त्री रायमाझी ओली गलत भन्दै माफी माग्न बाध्य भए ।

बबरमहलको जिल्ला समन्वय समिति हलमा नेपाल निजामती कर्मचारी संगठन, उपत्यका प्रदेश कार्यसमितिको अन्तरक्रिया कार्यक्रममा ओली समूह र प्रचण्ड–माधव दुवै समूहका कर्मचारीहरुबीच उनले एक पक्षको खेदो खन्दाखन्दै मञ्चबाट जुरुक्क उठेर उपाध्यक्ष जीवन भण्डारीले प्रतिवाद गरेका थिए ।

नेकपा विभाजनले औपचारिक मान्यता नपाएजस्तै अहिले कर्मचारी संगठन विभाजन भइसकेको छैन । कार्यक्रममा माधव नेपाल–प्रचण्ड खेमाका आरसी अधिकारी, रेवन्त गौतम, भवानी खतिवडा, जीवन भण्डारीहरु पनि उपस्थित थिए ।

झन्डै दुई सय हाराहारीमा कर्मचारी सहभागी रहेको हलमा प्रमुख अतिथि बनाइएका रायमाझीले ओलीनिकट कर्मचारीहरुको मात्र भेला होला भन्ठानेर सम्बोधनको सुरुवातमै लड्डु खाएको प्रसंग निकालेका थिए । त्यतिमा मात्र नरोकिई सडकमा हामी यहाँ छौं भनेर लेखिएको प्लेकार्ड बोकी प्रचण्ड र माधव नेपालहरु धर्ना बसेको सन्दर्भ पनि जोडे ।

मन्त्री रायमाझी जति जति प्रचण्ड–माधव नेपाल समूहको खिलाफमा बोल्थे हलमा उति धेरै हुटिङ हुन्थ्यो । कर्मचारीको कार्यक्रममा राजनीतिक भाषण र छेडखानी भएको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीलाई चित्त बुझेन ।

उनले बीचमै प्रतिवाद गर्दै भने–मन्त्रीज्यू के बोल्दै हुनुहुन्छ, यहाँ लड्डु खानेहरु छन्, खुवाउनेहरु पनि छन्, कर्मचारीको कार्यक्रममा कर्मचारीसँग सम्बन्धित विषयमा मात्र बोल्नोस् ।मञ्चबाटै प्रतिकार हुन थालेपछि मन्त्री रायमाझी रातोपिरो भए । त्यसपछि रायमाझीले माफी माग्दै आफ्नो भाषण सच्याए । उनले म माधव नेपाल–प्रचण्डलाई मात्र गाली गरिरहेको छैन ।

ओलीले पनि गल्ती गर्नुभएको हो । उनले भने, प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम गलत थियो, गलतलाई गलत नै भन्नुपर्छ । उहाँले ठिक भन्नुभएको छ, देशान्तरमा उल्लेख छ ।

म त ओली समर्थक मात्र हुनुहोला भनेर तपाईँहरुको लागि बोलेको थिए । तर, संगठन फुटेको रहेनछ, नफुट्नुस्, जुट्नुस, तपाईहरु सही हुनुहुन्छ । ओलीको कदम गलत छ । हामीले पनि एकता चाहेका छौं । तर, माथिका नेता नमिल्दा समस्या आएको हो ।  यो समाचार अलाईन पाना बाट लिएको हो ।



प्रतिक्रिया दिनुहोस !