ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको माओवादीलाई मान्यता
काठमाडौँ । निर्वाचन आयोगले आयोगमा १४५ नम्बरमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामको राजनीतिक दल खारेज गर्ने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले दल खारेजीको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई गराउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार सर्वोच्च अदालतको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै कायम रहेको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई दिने निर्णय पनि आयोगले गरेको छ ।