नेकपा संसदीय दलमा कसको बहुमत ?
काठमाडौ।सत्तारूढ दल नेकपाका ओली र प्रचण्ड-नेपाल समूहले पछिल्ला दुई दिनमा छुट्टाछुट्टै रूपमा संसदीय दलको बैठक बोलाएका थिए।
राष्ट्रिय सभाका वामदेव गौतमसहित प्रतिनिधि सभाका तुलसा थापा र लालबाबु पण्डित कुनै पनि पक्षमा लागेका छैनन्। उनीहरूले आफूहरूलाई पार्टी एकताको पक्षधर बताउदै आएका छन्। थापा गौतमकी श्रीमती पनि हुन्।
शुक्रबार सम्पन्न प्रचण्ड-नेपाल समूह र शनिबार भएको प्रधानमन्त्री ओलीको समूहमा सहभागी सांसद र दुबै पक्षले सुरूदेखि नै तयार पारेका सूचीलाई हेर्दा अहिलेसम्म पनि प्रचण्ड-नेपाल समूह नै बहुमतमा देखिएको छ। तर कुनै पनि समूहको पक्षमा ११५ सांसद भने पुगेका छैनन्।
प्रचण्ड नेपाल समूहमा प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभाका २४ जना सांसद समेत गरी १११ सांसद छन्। यो भनेको नेकपा संसदीय दलमा झिनो बहुमत हो। ओली समूह प्रतिनिधि सभाका ८३ र राष्ट्रिय सभाका २४ गरी १ सय ७ सांसदसहित संसदीय दलमा अल्पमतमा परेको छ।
शुक्रबारको बैठक पछि प्रचण्ड-नेपाल समूहमा थप एक जना सांसद थपिएको दाबी उनीहरुले गरेका छन्। यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।