१३ मंसिर २०८१, बिहीबार

सुन्दरीजल आयो मेलम्चीको पानी, २० वर्षपछि पूरा हुँदै काठमाडौंवासीको सपना



काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी २० वर्षपछि पहिलो पटक काठमाडौंमा आइपुगेको छ । वि.सं.२०५६ मा सुरु भएको मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु गरिएको दुई दशकपछि शनिबार पहिलो पटक मेलम्चीको पानी सुन्दरीजलस्थित पानी संकलन केन्द्रमा खसालिएको हो ।

साढे २६ किलोमिटर लामो सुरुङमार्ग हुँदै सुन्दरीजलमा ल्याइएको छ । सिन्धुपाल्चोकको मेलम्चीस्थित मुहानबाट सुरु हुने सुरुङमा फागुन १० गते पानी पठाइएको थियो ।

सुरुङ भरिएर आएको पानीलाई सुन्दरीजलमा खसालिए पनि पहिलो पटकको पानी फोहोर हुने भएकाले बाग्मती नदीमा पठाइएको छ । अहिले परीक्षणका लागि प्रतिसेकेण्ड २६० लिटर पानी मात्रै सुरुङमा हालिएको हो । सबै परीक्षण सम्पन्न भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने छ ।

सुन्दरीजलमा निर्माण गरिएका प्रशोधन केन्द्रमा पानी प्रशोधन गरेपछि मात्रै राजधानीवासीका घर–घरमा पानी वितरण गरिने छ । यद्यपि सुरुङको सफाइ र मर्मतको काम बाँकी रहेकाले घर–घरमा पानी वितरण गर्न भने अझै तीन महिना लाग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !