८ मंसिर २०८१, शनिबार

केपी सङ जुध्न सकेनन् प्रचण्ड ,अविश्वासको प्रस्तावबाट ब्याक हुने



काठमाडौ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि नाम सिफारिश गरेर संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि नबढाइने भएको छ । प्रस्ताव दर्ता गर्ने नेकपाको दाहाल-नेपाल समूह नै यसलाई निस्तेज पारेर नयाँ ढंगले बढ्ने तयारीमा छ ।

२३ फागुनमा प्रतिनिधि सभा बैठक बसेपछि अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नबढ्ने टुंगो लाग्छ । विश्वस्त स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटोले नै यो प्रस्तावलाई नबढाउने गरी प्रक्रिया मिलाउने छन् । तर, अर्को अविश्वासको प्रस्ताव ल्याउने तयारी समेत भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाम सिफारिश गरी दर्ता भएको कारण नेपाली काँग्रेसको साथ नहुन सक्छ । काँग्रेस सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको दौडमा छन् ।

संविधानको धारा १०० (४) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्यहरु मध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रुपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् । यही धारा टेकेर ५ पौषमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । धारा १०० को उपधारा ५ बमोजिम अविश्वासको प्रस्ताव पेश गर्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गरेको हुनुपर्ने व्यवस्था छ । संविधानको धारा टेकेर अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएको थियो । अब उनलाई प्रधानमन्त्रीमा समर्थन गर्न काँग्रेस तयार देखिदैन । त्यसैले अर्को विकल्पमा जानुपर्ने हुन्छ ।

प्रचण्डलाई प्रधानमन्त्री सिफारिश गरेर दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि बढेर असफल भएमा ओली अर्को एक वर्ष ढुक्कसँग प्रधानमन्त्री रहने अवस्था बन्छ । त्यसैले प्रचण्ड प्रस्ताव खेर फाल्ने पक्षमा छैनन् । उनी बरु देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्न तयार देखिएका छन् । यसको खुलासा समेत गरेका छन् ।

प्रचण्डले ओलीसँगको राजनीतिक संघर्षमा जीत हासिल गर्न देउवा या जनता समाजवादी पार्टीका महन्थ ठाकुर या डा. बाबुराम भट्टराईलाई समेतको साथ लिन खोजिरहेका छन् । त्यसका लागि उनी प्रधानमन्त्रीको दौडबाट पछि हटेर भएपनि देउवा, ठाकुर या भट्टराईलाई समर्थन गर्ने पक्षमा छन् ।

संविधानको धारा १०० (४) बमोजिम प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन । त्यसैले यसपटक ओलीविरुद्ध प्रचण्ड अचुक अस्त्र प्रहार गर्न खोजिरहेका छन् । यो अस्त्रबाट जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उनको तयारी देखिन्छ । उनी आफूलाई प्रधानमन्त्री बनाउने अविश्वासको प्रस्तावबाट ब्याक भएर नयाँ प्रस्ताव अगाडि बढाउने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस !