२० बैशाख २०८१, बिहीबार

उखु किसानले अझै पाएनन् पूरा भुक्तानी



काठमाडौं । उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अझैसम्म पाउन सकेका छैनन् । गत पुस १३ गते सरकार र उखु किसानबीच भएको सम्झौताअनुसार किसानले पाउनुपर्ने बक्यौता रकम सम्बद्ध उद्योगीहरूबाट सरकारले नै २१ दिनभित्र उपलब्ध गराउने सहमति भएको थियो । तर, हालसम्म पनि उखु किसानहरूले आफूले पूरा रकम नपाएको दाबी गरिरहेका छन् ।

अहिले उखु किसान चरणबद्ध आन्दोलनमा छन् । सोहीअनुरूप आइतवारदेखि उनीहरूले एकछाक उपवास बसेर खेतमा काम गरेर विरोध गरिरहेका छन् । ‘अझै पनि उद्योगीले बक्यौता रकम पूर्ण भुक्तानी गरेका छैनन् । त्यसैले विरोध स्वरूप हामी अहिले एकछाक खाएर खेतमा भोकभोकै काम गरिरहेका छौं, आफ्नै पसिनाको मूल्य पाउन पनि भोकभोकै खेतमा काम गर्दै विरोध गर्नुपर्ने हाम्रो यो कस्तो बाध्यता,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले आर्थिक भने ।

उनका अनुसार किसानले उद्योगीहरूबाट कुल ९० करोड रुपैयाँ भुक्तानी पाउनुपर्नेमा हालसम्म ५७ करोड किसानको खातामा आएको छ र बाँकी ३३ करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ ।

सरकारी पक्षले भने उनको कुरालाई खण्डन गर्दै उद्योगीहरूले उद्योग मन्त्रालयलाई बुझाएको तथ्यांकअनुसार ६५ करोड रुपैयाँ बक्यौता रहेको छ र त्यसमध्ये ५७ करोड रुपैयाँ भुक्तानी भइसकेको बताएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !