२१ बैशाख २०८१, शुक्रबार

धमाधम बाहिरिँदै राजस्व छलीका कर्तुत



काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम बाहिर ल्याउन सफल भएको छ ।

राजस्व अनुसन्धान विभागले आइतबार चारवटा फर्मविरुद्ध करिब ४० करोड रूपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गरेको अभियोगमा विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जना र वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक रजनीशकुमार गुप्तासहित चारवटा फर्मका सञ्चालकलाई करिब ४० करोड रूपैयाँभन्दा बढी असुलउपर र बिगो दाबी तथा कैद जरिमानाको मागसहित मुद्दा दायर गरेकोे हो ।

विभागले विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी राठीसहित तीन जनाविरुद्ध मुद्दा १५ करोड ३६ लाख ६३ हजार ६ सय ७२ रूपैयाँको मुद्दा दायर गरेको छ । विभागले सोही फर्मका म्यानेजर गिरीधारीलाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो । यसैगरी, उनीहरूले भीसीटीएससमेतको पालना नगरेको आरोप विभागले लगाएको छ ।

त्यसैगरी, विभागले वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक कुमार गुप्तासँग २५ करोड ८० लाख ६५ हजार ४ सय २३ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको छ ।

रजनीश ट्रेडिङ कन्र्सन तथा डल्फिन ट्रेडर्स प्रालिका सञ्चालक गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !