पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि बिहानदेखि बेलुकीसम्म खुल्ने
काठमाडौं । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ ।
कोरोना महामारीका कारण गत वर्ष चैत ११ गते मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको थियो ।
पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकामात्र खुला गरी दुई वटा लाइनबाट भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन गराउने व्यवस्था मिलाइएको छ ।
महाशिवरात्रिदेखि पशुपतिका चारै ढोका खोल्ने व्यवस्था गरिने भएको छ । गत वर्ष चैत ११ गते अघिसम्म मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला गरिन्थ्यो । दिउँसो पशुपतिनाथलाई भोग लगाएपछि भने बेलुकी ५ बजेसम्म मूल मन्दिर बन्द गर्ने परम्परा छ । महाशिवरात्रिदेखि यही परम्परा अनुसार गर्ने गरी तयारी शुरु भएको कोषले जनाएको छ ।
कोरोना महामारी जारी नै रहे पनि यस वर्ष पशुपतिनाथ मन्दिरमा आउनेजति भक्तजनलाई दर्शन गराउने गरी पशुपति क्षेत्र विकास कोषले तयारी शुरू गरेको छ । तयारीका लागि आइतबार कोषका महाशाखा एवम् शाखा प्रमुखबीच छलफल गरिएको निर्देशक भोलाप्रसाद सिटौलाले जानकारी दिए ।
गत बुधबार पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनिको पीठिकामा सुनको जलहरी राखिएकाले पनि यस वर्ष महाशिवरात्रिमा धेरै भक्तजन आउने अनुमान कोषले गरेको छ ।
गुठी संस्थानसँगको सहकार्यमा महाशिवरात्रिमा पुशपति आउने साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउनेलगायत व्यवस्थापन पनि गरिँदैछ । दर्शनार्थीलाई सहज रुपमा चन्दन बाँड्ने व्यवस्था गरिनेछ ।
महाशिवरात्रिदेखि रसिद काटेर गरिने विशेष पूजा पनि शुरू गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।