अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु
प्युठान । प्युठान अस्पतालको लापरबाहीका कारण शनिबार राति सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्यले विरोध गरेका छन्।
शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका-७ को २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको हो ।
अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर छोरा जन्माएकी थिइन् । शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो । अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रिफर गरेका थिए । तर दाङको भालुबाङ पुग्दा उनको मृत्यु भएको मृतकका श्रीमान सुदन थापाले बताए ।
अस्पतालले उपचार यहीँ हुन्छ भन्दै राखेर अन्तिम समयमा रिफर गर्नु लापरवाही भएको थापाको भनाइ छ । शिशु(छोरा)को अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।