बरु बालुवा पेलेर तेल निस्केला, ओली सुध्रिन्नन् : नेता नेपाल
काठमाडौ।नेकपा (दाहाल-नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी शर्मा ओली सुध्रिनु उस्तै उस्तै भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट शिक्षकहरूको राष्ट्रिय भेलामा अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताए ।
ओलीलाई सुधार्न कोसिस गरिरहेका गौतमलाई आफूले बालुवा पेलेर तेल निस्किदैन तरपनि कोसिस गर्नुस भनेको नेपालले बताए । उनले भने, ‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो । किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर,’ नेपालले भने, ‘यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? वामदेव गौतम हो । फेरी उहाँ (प्रचण्ड)लाई दोष जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाइहरूलाई बताउँछु । यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले ।’
नेपालले अब ओलीसँग एकताको कुनै सम्भावना नभएको बताए । ओली प्रवृतिविरुद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । उनले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस । केपी ओलीका मानिसहरूको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । ख्याल गर्नुहोला । बाम लगाएर आँशु निकाल्छन र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन यिनलाई मुर्ख बनाएर पठाइयो भन्छन् ।’
अहिले प्रतिनिधि सभा पुनःस्थापना भए पनि पुरै लडाई जित्न बाँकी रहेको पनि नेपालले बताए । ओलीलाई पूर्वएमालेको कुनै मायाँ नभएको नेपालले बताए । ओलीले अहिले मदन भण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत नेपालको छ । इकाग़ज बाट साभार