प्रचण्डको अभिव्यक्तिको चौतर्फी आलोचना, आखिर के भनेका थिए ?
काठमाडौ।नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । प्रचण्डले आफू नेतृत्वको नेकपासहित कांग्रेस र जसपाको सरकार भने भारतलाई समेत कम्फर्टेबल हुने शुक्रवार राति एक अन्तरवार्ताका क्रममा बताएका थिए ।
सो अघिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको जनताको पक्षमा नसोचि भारतको पक्षमा सोच्ने काम भएको भन्दै चर्को आलोचना भएको हो ।
प्रचण्डले के भनेका थिए, जस्ताको तस्तैः
‘यहाँ कोही कसैका विरुद्ध षड्यन्त्र होइन यो, ती शक्ति मिल्दा नै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने भयो र इतिहासले जसलाई अगाडि बढ भनेको हो तिनै अघि बढ्नुपर्यो । त्यसो भएर मेरो भनाइ नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा देशको राजनीति चेक एण्ड ब्यालेन्स पनि हुन्छ, सन्तुलनमा पनि बस्छ ।
सबै छिमेकीहरुसँगको सम्बन्ध राम्रो भएर पनि जान्छ । भारतसँग पनि चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँगको हाम्रो जुन विशिष्ट सम्बन्ध छ, इतिहास, भूगोल, संस्कृति, धर्म–परम्परा, अर्थतन्त्र, पानीढलो, खुला सीमाना सबै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायित्व विकास त हुँदैन । त्यसरी हेर्दा म के देख्छु भने नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतको निम्ति पनि कम्फर्टेबल समीकरण हो । चीनको लागि पनि यो कम्फर्टेबल नै हुन्छ । यति राम्रो सम्भावना अहिले छ, यो सम्भावनामा जानुपर्यो भनेर मैले भनेको छु । फेरि आत्मसमीक्षासहित भनेको छु, यो नै सबैको हितमा छ भन्ने मेरो भनाइ हो ।
हिजो गणतन्त्रको आन्दोलन गर्दा असम्भव कुरा हो भन्ने केपी ओली, हिजो माओवादीलाई पनि शान्ति प्रक्रियामा ल्याउने सकारात्मक वातावरण बनाउनुपर्छ भनेर बामदेव गौतम र युवराज ज्ञवाली रोल्पा जानु भयो– म र बाबुराम थियौं अब हामी मिलेर जाने भनियो । त्यो भन्नेलाई कारबाही गर्नुपर्छ भन्ने केपी ओली, समानुपातिक समावेशी हुनुहुँदैन भन्ने केपी ओली, हिजो गणतन्त्रको आन्दोलनको नेता त माधव कुमार नेपाल हो नि । हामी सबै सँगै छौं, नेपाली काँग्रेसको नेता गिरीजाप्रसाद कोइरालाले हिजो साहस गरेर पहल नलिएको भए शान्ति सम्झौता हुन गाह्रो थियो । सात दलको नेताको हैसियतले उहाँले भूमिका खेल्नु भयो । शान्ति सम्झौतामा दुई नेताले हस्ताक्षर गरियो । त्यो सबै शक्ति त हामी एकै ठाउँमा छौँ नि १ यी शक्ति मिल्नुपर्यो भन्या हो ।’