८ मंसिर २०८१, शनिबार

अझै दुई बर्ष सम्मको प्रधानमन्त्री म नै हो – ओली



काठमाडौ।प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी गरेका छन् । नेकपाकै दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पमकमल दाहाल र माधवकुमार नेपालले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने माग गरिरहँदा ओलीले भने २ वर्षसम्म आफ्नै सरकार रहने र राजीनामाको कसैले कल्पनै गर्न नपर्ने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँ सरकार निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाइरहेका बेला प्रधानमन्त्री ओलीले आगामी दुई वर्षसम्म आफ्नै नेतृत्वको सरकार रहिरहने बताएका हुन् ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार आफू निकटका सांसदसँग छलफल गर्दै अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्री रहिरहने भएकाले ढुक्क भएर बस्न र सोहीअनुसार अघि बढ्न निर्देशन दिए । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश १ का संघीय सांसदसँग छलफल गरेका उनले कुनै पनि हालतमा प्रधानमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पारे । छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा १ सय २० भन्दा बढी सांसद पुग्ने दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !