७ जेष्ठ २०८१, सोमबार

दुई महिनामा १०९ थान भरुवा बन्दुक बरामद



गलकोट । जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध भरुवा बन्दुक नियन्त्रणमा सक्रियता बढाए सगैं १०९ थान हतियार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले नागरिकको शान्ति सुरक्षामा खलल पुर्‍याउने सबै गतिविधि नियन्त्रण गर्ने अभियान अन्तर्गत गाउँगाउँमा रहेका अवैध भरुवा बन्दुक नियन्त्रणमा लिने क्रम जारी राखेसँगै स्थानीयले जङ्गलमा हतियार लुकाउन थालेको पाइएको छ ।

पछिल्लो समय प्रहरीले अवैध घरेलु मदिरा नष्ट, गाँजा फडानी, फरार प्रतिवादी पक्राउ गर्दै आएकामा प्रहरीले पुनः अवैघ घरेलु हतियार बरामदलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो दुई महिनाको अवधिमा १०९ थान हतियार बरामद गरिसकेको छ ।

गत असोज २८ गतेदेखि भरुवा बन्दुक बरामद गर्न थालेको प्रहरीले हालसम्म १०९ थान बरामद गरेको जनाएको छ । वन्यजन्तुको अवैध चोरी शिकारीमा प्रयोग हुँदै आएको भरुवा बन्दुक बरामदलाई जिल्ला प्रहरी कार्यालयले तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

गलकोट नगरपालिका–९ स्थित कात्तिकेको जङ्गलमा दुई नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको निर्देशनानुसार अवैध रुपमा रहेका हातहतियार बरामद गर्ने अभियानलाई तीव्रता दिएसँगै पक्राउ पर्ने डरले भरुवा बन्दुक जङ्गल तथा खोला किनारमा फाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ ।

भरुवा बन्दुकसहित पक्राउ परेका १० जनालाई मुद्दा चलाइएको छ । एक फरार रहेका छन् । पक्राउ पर्नुभन्दा जङ्गलमा लुकाउने र फाल्ने गरेको देखिएको प्रहरीले जनाएको छ । अन्य भरुवा बन्दुक भने बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।

कालिज, मृग, चितुवा लगायत वन्यजन्तुको शिकार गर्न प्रयोग हुँदै आएका भरुवा बन्दुक गाउँमै बनाएको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस !