१ जेष्ठ २०८१, मंगलवार

फागुन २३ गतेबाट ६६ लाख कित्ता आइपीओ निष्कासन गर्दै ज्योति लाइफ



काठमाडौं । फागुन २३ गतेबाट ज्योति लाइफ इन्सुरेन्सले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

यसमध्ये ३ लाख कित्ता ३० हजार कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । हाल यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८१ पैसा छ ।



प्रतिक्रिया दिनुहोस !