ओली समूहको स्थायी कमिटी बैठक स्थगित, यस्तो छ कारण
काठमाडौं । नेकपा (ओली) समूहको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रतिनिधि सभा पुनःस्थापना भएपछि बुधबार नेकपा स्थायी कमिटी बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिहीबार बस्ने गरी टुङ्गिएको थियो। तर, आजको बैठक भने स्थगित गरिएको नेकपाले जनाएको छ।
गृहकार्य गर्नु पर्ने भएकाले स्थायी कमिटी बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिएका छन्। गृहकार्य गर्नुपर्ने भएकाले आज बैठक नबस्ने भयो, एक–दिनपछि बस्ने थापाले जानकारी दिएका छन् ।
बुधबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको थियो। त्यस्तै, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको थियो।
गत ५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। त्यसलाई सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेपनि राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका हुन्।