१२ मंसिर २०८१, बुधबार

चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा



काठमाडौँ। पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।

क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना शुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । आगामी बुधबारसम्म क्षमापूजा हुनेछ ।

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौंँदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा शुरु भएको हो ।

वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ । चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो । सुनको जलहरी निर्माण पनि शुरु भइसकेको कोषले जनाएको छ । एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !