५ जेष्ठ २०८१, शनिबार

सुन्तलाको उत्पादन बढ्यो , बजार घट्यो



स्याङ्जा । यस वर्ष स्याङ्जामा सुन्तलाको उत्पादनमा वृद्धि हुने भएको छ ।

गत वर्ष नौ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार मेट्रिक टन उत्पादन भएको छ ।

सुन्तला सुपरजोन क्षेत्रमा गत वर्षको तुलनामा यसवर्ष ६०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुखले जानकारी दिए ।

स्याङ्जामा सुन्तला सुपरजोनअन्तर्गत एकहजार ३४८ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ । जसमध्ये ८०८ हेक्टर क्षेत्रफलमा रहेको बगैँचाले उत्पादन दिने गरेको छ भने ५४० हेक्टर क्षेत्रफलमा सुन्तलाका बिरुवा लगाइएको प्रमुख लम्सालले बताए ।

सुपरजोनअन्तर्गत यसवर्ष ३० हेक्टर क्षेत्रफल वृद्धि गरी सुन्तलाका बिरुवा लगाउने लक्ष्य कार्यालयको रहेको प्रमुख लम्सालको भनाइ थियो ।

‘गतवर्ष सुन्तला बिक्रीबाट सुपरजोन क्षेत्रभित्र मात्रै रु ३५ करोड आम्दानी भएको थियो, यसवर्ष कति हुन्छ, यकिन नभएको बताए । यसवर्ष कोभिड–१९ सङ्क्रमणका कारण सुन्तलाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् ।

हालसम्म सुपरजोन लागू भएका क्षेत्रभित्र उत्पादन भएका सुन्तलामध्ये १५ प्रतिशत मात्रै बिक्री भएको तथ्याङ्क कार्यालयसँग छ ।

विगत वर्षमा आन्तरिकरुपमा सुन्तला बिक्री हुने गरेकोमा यसवर्ष कोभिड– १९ का कारण सुन्तलाको बिक्री घटेको हो ।

सुन्तला सुपरजोन लागू भएका क्षेत्रमा किसान समूह ११५, निजी फार्म ७५ र सहकारी १३ वटा गरी कूल २०३ संस्था सूचिकृत भएका छन् । जसमा तीन हजार २५९ सदस्य आबद्ध रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !