७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्रीको कदममा राष्ट्रपतिलाई विवादमा तान्‍न खोजियो : नेम्वाङ



बिराटनगर।पूर्वसभामुख तथा नेकपा (ओली समूह)का नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्‍ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन् ।

ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेका कार्यक्रममा नेम्वाङले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन गर्ने कदम  संविधानसम्मत छ कि छैन भनेर मतहरू प्रकट भए । प्रधानमन्त्रीको कदमलाई लिएर राष्ट्रपतिलाई समेत विवादमा तान्ने प्रयास भयो ।’ 

नेम्वाङले आफू कानुनको विद्यार्थी भएकाले प्रतिनिधि सभा विघटन ठीक हो कि बेठीक हो भन्नेबारेमा सर्वोच्चमा रिट परेकाले त्यसको फैसला भएपछि मात्रै बोल्ने बताए । ‘म कानुनको विद्यार्थी हाम्रो संविधानले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्‍मा बहससमेत गर्न पाइँदैन भनेको छ,’ उनले भने ।

नेम्वाङले सडकमा उत्रिएर जनताले निर्वाचनको पक्षमा फैसला सुनाइसकेको बताए । ‘नेपाली जनताले त अहिले सडकमा उत्रिएर यो समुद्रको लहरजस्तो जनताको जुन लहर सडकमा पोखिएको छ । नेपाली जनताले त फैसला सुनाइसकेका छन् । सम्मानित सर्वोच्च अदालतको फैसला हामी कुरिरहेका छौं’, उनले भने ।



प्रतिक्रिया दिनुहोस !