उपचारपछि नेता खनाल आज स्वदेश फर्किँदै
काठमाडौं । नियमित स्वास्थ परीक्षणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड-माधव पक्षका वरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किँदै छन् ।
उनी माघ ३० गते नयाँ दिल्ली गएका थिए । उनलाई दिल्लीको एपोलो अस्पतालमा राखेर उपचार तथा स्वास्थ्य परीक्षण गरिएको थियो ।
दिल्लीस्थित नेपाल राजदूत निलाम्बर आचार्यले एपोलो अस्पतालमै पुगेर पूर्वप्रधानमन्त्री खनाललाई भेटेका थिए । भेटमा राजदूत आचार्यले खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनले जानकारी दिएका थिए ।
एक हप्ताभन्दा लामो दिल्ली बसाई टुङ्ग्याएर आज दिउँसो ४ बजे नेता खनाल नेपाल आइपुग्ने बताइएको छ ।