आफ्नै नेताहरूलाई देउवाले भने-बिचराहरु अझै प्रचण्डको विरुद्ध बोल्न डराउँछन्
काठमाडौ।नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा चुनाव हुँदैन भन्ने आफ्नै नेताहरुप्रति आक्रोशित बनेका छन् ।
नुवाकोटको पार्टी कार्यालय भवन उद्घाटन समारोहमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा कांग्रेस उभिनुपर्ने बताएपछि देउवा आक्रोशित बनेका हुन् ।
उनले ६ महिनाभित्र चुनाव नभए केपी ओलीलाई हटाउने भन्दै चुनाव हुँदैन भन्नेहरुमा पराजित मानसिकता रहेको बताए । चुनाव हुँदैन भनेर भ्रम फैलाइएको भन्दै कांग्रेसले तयारी नगरे फेरि हार्नुपर्ने बताए ।
उनले भने, चुनाव हुन्छ, चुनाव हुन्छ, चुनाव हुन्छ । अदालतले जे फैसला गर्छ त्यो नमान्ने हो भने हामीले पनि प्रचण्डले जस्तै धम्क्याउने ?’
संविधान बुझेका विद्वान पार्टीभित्र र बाहिर धेरै भएपनि संविधानको व्याख्या सर्वोच्च अदालतले मात्रै गर्नसक्ने भन्दै सभापति देउवाले अदालतको निर्णय आफूलाई स्वीकार्य रहेको बताए ।
‘अदालतलाई धम्क्याउने कुरा छैन । अदालतले संसद पुनःस्थापना गर्यो भने संसदमा जाने हो, गरेन भने चुनावमा जाने हो’, देउवाले भने ।
देउवाले भने, ‘मैले त उतिबेलै भनेको हो कम्युनिष्टले जिते भने बोल्न पनि पाइँदैन । हाम्रो पार्टीका साथीहरू बल्लबल्ल ओलीको विरोध गर्न सक्ने हुनुभएछ । प्रचण्डको विरोध गर्न त अझै सक्नुहुन्न । प्रचण्डसँग किन डराएको हो कुन्नि ?’, देउवाले भने । उनले ओली वा प्रचण्ड दुवैविरुद्ध उभिन सक्ने कांग्रेस बनाउनु आफ्नो लक्ष्य रहेको बताए ।Nepal Press