३० बैशाख २०८१, आईतवार

जिप दुर्घटना:आमाको साथ छुटे पनि आमाले किनिदिएको खेलौना हातमै



प्रेम सुनार ।गुल्मी। बुधबार गुल्मीमा भएको जिप दुर्घटनामा आमा गुमाएकी चार वर्षीय बालिका जिल्ला अस्पताल तम्घासमा यता उता चाहर्छिन् । सोही अस्पतालमा उनका पिता प्रकाश नेपालीको उपचार भइरहेको छ । गुल्मीकै पराल्मी गाउँका प्रकाश नेपाली र उनकी पत्नी शान्ति नेपालीले अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शनका लागि चार वर्षीय छोरीलाई सँगै लगेका थिए । मंगलबार मन्दिर दर्शन गरेपछि उनीहरु अर्घाखाँचीमै एक आफन्तको घरमा बसे ।

बुधबार तम्घास बजारमा प्रकाश र शान्तिले सामान्य किनमेल गरे । सोही क्रममा शान्तिले चार वर्षीय छोरीका लागि खेलौना किनिदिइन् । त्यसपछि घर फर्कन जिप चढेका उनीहरु बाटोमै दुर्घटनामा परे । दुर्घटनामा शान्तिको मृत्यु भयो भने प्रकाश घाइते अवस्थामा उपचाररत छन् । चार वर्षीय छोरी भने आमाले किनिदिएको खेलौना हातमा लिएर यताउता चाहर्दैछिन् ।

प्रकाशका अनुसार चालकले जिप असन्तुलित हुनासाथ चार वर्षीय बालिकालाई आमाको काखबाट तानेर सडकमा खसालिदिएका थिए । त्यसैले ती बालिकालाई खासै चोट लागेन । तर प्रकाश र उनकी श्रीमतीसँगै अन्य यात्री जिपमै रहे । सडकबाट जिप तल खस्दा ८ जना घाइते भए भने तीन जनाको मृत्यु भयो । घाइते ८ मध्ये दुई जना तम्घास अस्पतालमा छन् भने ६ जनालाइ पाल्पा रिफर गरिएको छ ।

जिल्ला अस्पताल तम्घासमा उपचार गराइरहेका प्रकाशलाई उनकी पत्नीको निधन भएको थाहा दिइएको छैन । उनी पत्नीलाई पाल्पामा उपचारका लागि पठाइएको भ्रममा छन् । शान्तिको शव सोही अस्पतालको शवगृहमा राखिएको छ ।
रेसुङ्गा नगरपालिका १४ मा पर्ने पराल्मी गाउँ तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप पराल्मिको ठुलापँधेरामा दुर्घटना हुँदा तम्घास नजिकै बुट्टाखुरीकी ४७ वर्षीय चेली गोमा नेपालीको पनि निधन भयो । उनी माइतीघरबाट घरतर्फ फर्कदै थिइन् ।

उनका भाइ कृष्ण नेपाली भन्छन्, ‘फागुन २ गते दिदी आउनुभएको थियो, हिजो (बुधबार) हाँसीखुशी घर जानुभएको थियो तर बाटोमै त्यस्तो भयो ।’ सोही दुर्घटनामा परी मृत्यु भएका अर्का व्यक्ति हुन् पराल्मी गाउँका ४८ वर्षीय एकबहादुर पोख्रेल । ६ दिन अघिमात्र भारतबाट आमाको तिथि गर्न आएका उनी जिपमा चढेको पाँच मिनेटमै दुर्घटनामा परेका थिए ।

उनकी श्रीमती, एक छोरा र दुई छोरी भारतमै छन् । मोटरबाटो खुलेको वर्षौँ हुँदा पनि सदरमुकाम नजिकै पराल्मीको सडक स्तरोन्नति हुन नसक्दा त्यहाँका बासिन्दाले धेरै पटक दुर्घटनाको जोखिम मोल्दै आएका छन् । रेसुङ्गा नगरपालिकाभित्र परे पनि साबिक पराल्मी गाविस बत्तीमूनिको अँध्यारो गाउँका रुपमा चिनिएको छ ।



प्रतिक्रिया दिनुहोस !