७१ औँ प्रजातन्त्र दिवसमा तोप पड्काएर बढाई
काठमाडौँ । आज ७१ औ प्रजातन्त्र दिवस । १ सय ४ बर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा प्रजातन्त्र दिवस मनाइदैछ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ।
दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै छ। दिवसको अवसरमा नेपाली सेनाले ७ तोप पड्काएर बढाई गरेको छ।
बिहान ६ः२९ बजेको साइतमा नेपाली सेनाले त्रिचन्द्र महाकांलको छत र जंगीअड्डाबाट बिगुल बजाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। ‘यसअघि धरहराबाट बिगुल बजाउने गरिन्थ्यो, सैनिक प्रवक्ता सन्तोष बल्लव पौडेलले उकेरासँग भने, यो पटक त्रिचन्द्र महाकांलको छतबाट र जंगीअड्डाबाट बिगुल बजाइएको छ।’
पौने १० बजे टुँडिखेलमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुनेछ। यस्तै काठमाडौँ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइदैछ।
२००७ फागुन ७ गते जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिएका छन्।