२२ बैशाख २०८१, शनिबार

सोमबारको देशव्यापी विरोध प्रदर्शनमा कांग्रेस नेताहरु को-कहाँ जाँदैछन् ?



काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । सरकारविरुद्ध घोषणा गरिएको तेस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेस सोमबार ७७ वटै जिल्लामा प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गर्न लागेको हो ।

सरकारविरुद्ध हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्वहरु पनि जिल्ला–जिल्ला जाने भएका छन् । सोमबारको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा रुपन्देही जाने कार्यक्रम रहेको बूढानीलकण्ठले जनाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ जाँदै छन् भने महामन्त्री डा. शशांक कोइराला दाङमा हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुँदैछन् । यस्तै सहमहामन्त्री डा. प्रकाशशरण महतले सिराह, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापा र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह कास्कीको विरोध सभामा सहभागी हुने भएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले काठमाडौंमा, एनपी साउदले दार्चुलामा, डा. मिनेन्द्र रिजाल प्युठानमा, डा. रामशरण महतले काभ्रेमा हुन गइरहेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै युवा नेता गगन थापा चितवन र अर्का युवा नेता प्रदीप पौडेल दैलेखमा हुन गइरहेको सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुने कार्यक्रम रहेको छ । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बैतडीमा, केन्द्रीय सदस्य कल्याण गुरुङ रोल्पा, केन्द्रीय सदस्य अर्जुन जोशीले भक्तपुरमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले बझाङमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।लेखाजोखा न्युज बाट साभार



प्रतिक्रिया दिनुहोस !