१२ मंसिर २०८१, बुधबार

भूकम्पपछि पुनर्निर्मित सिंहदरबार भोलि उद्घाटन गरिँदै



काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ ।पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावटसमेत सकेर भोलि सोमवार उद्घाटनको तयारी भएको छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिएका छन् ।सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सर्न लागेको हो । करीब छ वर्ष अघिको भूकम्पले क्षतिग्रस्त भएपछि विसं २०७२ वैशाख १२ गतेपछि मुलुकको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो । प्रबलीकरण भइरहेका बेला उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्य अगावै काम सकेकोे एकाइले जनाएको छ । पूर्वी भाग प्रबलीकरणको उद्घाटनसँगै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षे उपलब्धिबारे सिंहदरबार मूल भवनको आँगनबाट नै जानकारी गराउने कार्यक्रम रहेको एकाइ प्रमुख सिंहले जानकारी दिए ।सिंहदरबारका तीन भाग प्रबलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि पहिलो हप्तामै काम सकिएको छ । गौरी-शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरेको हो । उत्तर, पूर्व र दक्षिण भाग प्रबलीकरणको लागत रु ८७ करोड रहेको पनि आयोजना निर्देशक सिंहले सुनाए । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सम्पन्न भएको छ ।

सिंहदरबार पश्चिमी भाग प्रबलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ असोजसम्ममा सकिने एकाइले जनाएको छ । सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनर्निर्माणको काम समेत शुरु भइसकेको छ ।सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको विसं २०३७ मा पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो । सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो । पुरातत्वविद्लगायत प्राविधिकले अध्ययन गरी प्रबलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो । जसले गर्दा प्रबलीकरणमा समय लागेको हो ।पुनर्निर्माण गर्दा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी संरचनालाई भूकम्पीय जोखिम धान्न सक्ने गरी निर्माण गरिएको तर भवनको अत्यन्तै सुन्दर भाग पश्चिमी मोहडा भने पुरानै स्वरुपमा रही आएको एकाइका उपआयोजना निर्देशक झप्परसिंह विश्वकर्माले बताए । यसमा पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग भएकाले संरक्षण हुँदै आएको थियो ।रासको सहयोगमा



प्रतिक्रिया दिनुहोस !