प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
काठमाडौ।नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध सोमबार हुने प्रदर्शनमा सहभागी हुन् अपिल गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत फागुन ३ को प्रदर्शनमा व्यापक सहभागी भएर प्रतिनिधि सभा विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका हुन् ।
‘केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु’, देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् । अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।’