८ बैशाख २०८१, शनिबार

आन्तरिक पर्यटकले चलायमान बन्दै सौराहा



चितवन । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि बढ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् ।

होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्न समय थप गरेर भए पनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका छन । शुक्रबार र शनिबारको दिन सौराहामा आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिन्छ । तिहारपछि आन्तरिक पर्यटकको आगमनले राहत र हौसला मिलेको व्यवसायीहरु बताउँछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पछिल्लो समय आन्तरिक पर्यटकका कारण सौराहाले लय समात्न खोजेको खर्च धान्ने अवस्था बन्न थालेको बताए ।

सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीको अवधि थप गरिएको छ । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन व्यवसायीले पर्यटकलाई थप समय घुमाउने निर्णय गरेका हुन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिका अध्यक्ष ऋषि तिवारीले पर्यटक आकर्षित गर्न सङ्घले विभिन्न प्याकेज दिएको बताए । एक घण्टाको प्याकेजमा हात्ती सफारी गर्नेका लागि डेढदेखि दुई घण्टासम्म घुमाउने गरेको बताए । चार जना भएपछि मात्रै सफारीमा लैजाने गरिहेका उनिहरुले , अहिले दुई जना भए पनि जाने गरिएको छ ।

पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँका होटल तथा रेष्टुराँ खुलेका थिए । यो समय सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । होटल तथा रेष्टुराँले प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट दिएको बताएका छन् ।

होटलभन्दा रेष्टुराँमा पर्यटक केही धेरै छन् । रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुराँमा आउन थालेको बताए । आन्तरिक पर्यटक बढ्न थालेपछि केही आशावादी बनेका छन् व्यवसायी ।

सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा रहेका छन् । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस !