२९ बैशाख २०८१, शनिबार

बुटवलमा एकसाथ दुई केबलकार



बुटवल । एकै पटक बुटवलमा दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ ।

लुम्बिनी केबलकार प्रालिले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार निर्माण गर्दैछ भने सिद्धबाबा केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोट गढीसम्म केबलकार निर्माण गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने केबलकारको शनिबार शिलान्यास गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । सिद्धबाबा केबलकार प्रालिले भने गत सातादेखि नै निर्माणको काम सुरु गरिसकेको छ ।

सिद्धबाबा केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले सबै प्रक्रिया पूरा गरी निर्माणको काम सुरु भइसकेको जानकारी दिए । बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा बेस स्टेसन र पाल्पाको नुवाकोटगढीमा अन्तिम स्टेसन रहने जानकारी उनले दिए ।

सिद्धबाबा केबलकारको लम्बाइ एक किलोमिटर ९५ मिटर रहेको र लागत ८० करोड रुपियाँ आकलन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । यो समूहले नुवाकोटमा अत्याधुनिक रिसोर्ट निर्माण गरिरहेको छ ।

लुम्बिनी केबलकार प्रालिका सञ्चालक तेजबहादुर विश्वकर्माले केबलकारको बुटवल–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने जानकारी दिए ।

तीन किलोमिटर लम्बाइ रहेको लुम्बिनी केबलकारको निर्माण लागत तीन अर्ब ५२ करोड रुपियाँ रहेको जानकारी दिँदै उनले केबलकारको अन्तिम स्टेसन पाल्पाको वसन्तपुरमा रिसोर्टसमेत निर्माण गर्ने गरी लागत अनुमान गरिएको बताए।

यसैबीच नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकले रुपन्देही र पाल्पा जिल्लाअन्तर्गत उक्त क्षेत्रमा पर्ने ६.२७ हेक्टर वन क्षेत्र प्रयोगको स्वीकृति दिएपछि केबलकार निर्माणको बाटो खुलेको हो । लुम्बिनी केबलकारले २५ वर्षका लागि सो वन क्षेत्र उपयोग गर्न पाउने गरी मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको जनाएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छवि पाण्डेले खबर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !