भागरथीलाई न्याय माग्दै ग्रामीण र एनआर क्याम्पसका नेविसंघद्वारा प्रदर्शन
काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता र विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए । नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता ,विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए ।
कोणसभामा नेविसंघका पूर्वकेन्द्रीय सदस्य शुशील भट्ट ,विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा,सन्तोष गुरुङ ,स्वेच्छा उप्रेती ,लक्ष्मी सिलवल,जीवन राना ,किरण भट्टराई ,सुवास घिमिरे ,प्रवीन गुरुङ, स्थानीय नेपाली कांग्रेसका नेता मनोज लगायतले बलात्कारीलाई कानुनी कारबाही गर्न माग गरेका थिए । उनीहरुले करिब एक घन्टा चक्काजामसमेत गराए ।
बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने भट्टले जानकारी दिए ।