२० बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओली आज पार्टी विवाद बारे छलफल गर्न निर्वाचन आयोग जाँदै



काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय जाँदैछन् ।

आयोगले यसअघि माघ १६ गते नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

नेकपा विवाद र आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग जान लागेका हुन् ।

सो छलफलमा नेकपाको ओली पक्षका दोस्रो तहका नेताहरु पुगेर छलफल गरेपनि प्रचण्ड(नेपाल पक्ष भने सो दिन छलफलमा भाग लिएनन् ।

तर त्यसको केहि दिनपछि प्रचण्ड(नेपाल पक्षले आयोगमा आफ्नो पक्षको आधिकारिकता दाबी गरिसकेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे निर्वाचन आयोग जाँदै छन् ।

नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गरिरहदा निर्वाचन आयोगले कस्तो निर्णय गर्छ भन्ने सबैको चासो रहेको छ ।

नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

प्रचण्ड(माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली गएका थिएनन् । उनी आज बिहान ११ बजे आयोगको कार्यालय जाने उनको सचिवालय स्रोतले बतायो ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन् । साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गरेका छन् भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।

बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड(माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड(माधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !