४ जेष्ठ २०८१, शुक्रबार

भारतमा हिमपहिरोमा परेर १८ जनाको मृत्यु, २ सय बढी बेपत्ता



भारत । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर १८ जनाको मृत्यु भएको छ भने, २०० भन्दा बढी बेपत्ता भएका छन् ।

आइतबारको हिमपहिरोका तीब्र बेगको कारण पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए ।

बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदूर रहेको जनाएको छ । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ ।

आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए ।

उनले भने, “झण्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ । अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ ।”

धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !