प्रधानमन्त्री पक्षका वकिलले धेरै समय लिएको भन्दै रिसाए प्रधानन्यायाधीश जबरा
काठमाडौं । आज पनि प्रतिनिधसभा विघटनविरूद्धको रिटमा सुनुवाइ जारी छ । आजको बहस सुरू गरेका ईश्वरी भट्टराईले आधा घण्टाभन्दा धेरै समय प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट लिएपछि प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा रिसाएका छन् ।
छिटो फैसला दिने उद्देश्यसहित माघ ३० भित्र बहस सक्न सरकारी पक्षलाई आग्रह गरेका जबराले १५ मिनेटको समय छुट्याएका थिए ।
तर, ३१ मिनेटमा पनि अधिवक्ता भट्टराईले बहस नसकेपछि उनले रिसाउँदै ‘हाम्रो बाध्यता बुझ्नु हुँदैन’ भन्दै प्रश्न गरेका छन् । साढे ११ मा बहस सुरु गरेका भट्टराईले ३१ मिनेटभन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश जबराले भने, ‘१५ मिनेट भनेको धेरै बोल्नुभयो, तपाईँको समय धेरै गइसक्यो जानुहोस् । अब छोडिदिनुहोस् न ।’
यसअघि आइतबार महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न सरकारका पक्षबाट निजी कानुन व्यवसायीले बहस थालेका छन् । विघटनको पक्षमा सरकारका तर्फबाट डेढ सय बढी निजी वकिलले बहस गर्नेछन् ।
१३ निवेदकका पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।